कांग्रेसमा महाधिवेशन विवादः कोइरालाको धारणा के छ ?
कांग्रेस नेता शेखर कोइरालाले नियमित महाधिवेशनको मितिबारे सहमति नजुटेमा विशेष महाधिवेशनमै जानु उपयुक्त हुने बताएका छन्। सोमबार आफ्नो सम्पर्क कार्यालयमा भेटिएका नेताहरूसँगको संवादमा उनले तत्काल नियमित महाधिवेशनको सम्भावना टर्दै गएको बताए।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरी दबाब दिने नेताहरूले कोइरालासँग भेटेर आफ्नो अडान राखेका थिए। नेता मनोजमणि आचार्यका अनुसार, कोइरालाले नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशनको पक्षमा उभिने बताएको छ। कोइरालाले भने, “म नियमित महाधिवेशन गराउनेमा नै छु। तर विशेष महाधिवेशन दर्ता भइसकेको र नियमित महाधिवेशन सम्भावना कमजोर देखिएपछि यो बाध्यकारी हुन्छ।”
कांग्रेसभित्र पार्टीको महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछि गर्ने भन्ने विषयमा संस्थापन र इतरपक्षबीच विवाद जारी छ। ललितपुरको धोवीघाटमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा साझा कार्यतालिका बनाउन दुई पक्षीय ‘वान टु वान’ छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन।
संस्थापन पक्षले फागुन २१ अघि महाधिवेशन नगर्ने अडान राखेको छ भने इतरपक्षले निर्वाचनअगाडि नै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गर्दै आएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेका थिए। तर, संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्ने मिति अघि सारेको र गत बैठकमा साझा सहमति नपुग्दा बैठक स्थगित गर्नुपरेको थियो।
यसबीच, संस्थापन पक्षका केही केन्द्रीय सदस्यहरू बानेश्वरस्थित आनन्दभूमिमा भेला भई नियमित महाधिवेशनको सम्भावना नरहेको मत प्रकट गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस