Techie IT
२०८२ कार्तिक २६, बुधबार

समाजवादी मोर्चाबाट अलग भए विप्लब


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन्। उनले बुधबार वक्तव्य जारी गर्दै चार दलीय समाजवादी मोर्चाबाट आफ्नो पार्टी अलग भएको जानकारी दिएका हुन्।

जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष रहेको वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा भनिएको छ, “समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्। यस्तो परिस्थितिमा समाजवादी मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको हाम्रो निष्कर्ष छ। सोही आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँछौं।”

२०८० सालमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपाले मिलेर समाजवादी मोर्चा गठन गरेका थिए। मोर्चाले राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण, जनजीविकाको पक्षमा वकालत गर्ने र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्य राखेको थियो।

हाल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पार्टी एकता घोषणा गरेका छन्। विप्लव नेतृत्वको नेकपाबाट अलग भएको चिरन सी नेतृत्वको समूह पनि उक्त एकता प्रक्रियामा सहभागी भएको छ।

विप्लवले वक्तव्यमा मोर्चाले केही महत्त्वपूर्ण पहलहरू गरे पनि समयको मागअनुसार रफ्तारमा काम अघि बढाउन नसकेको जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट