एकताका कारण केहीको सातो गएको छ — माधवकुमार नेपाल
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताका कारण केही नेताको ‘सातो गएको’ टिप्पणी गरेका छन्।
बुधबार मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले एकताको प्रक्रियाले राजनीतिमा नयाँ तरंग ल्याएको बताए।
नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको ‘होस् हवास उडेको’ टिप्पणी गरेका हुन् । ‘एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुन सक्छ,’ उनले भने, ‘होस् हवास गुमाउनु आवश्यक छैन, गालीगलौजमा उत्रिनुपर्ने पनि छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्, मैले बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पारित गर्नुस्, जसले हाम्रो घाउमा मल्हम लगाउनेछ।’
कार्यक्रममा उनले मातृभूमि जागरण अभियानका नेताहरूलाई एकतामा आएकोमा धन्यवाद दिए र आगामी दिनमा एकताको यात्रा अझ बलियो रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस