Techie IT
२०८२ कार्तिक ३०, आइतबार

जेनजी आन्दोलन देश अस्थिर बनाउने योजनाबद्ध षड्यन्त्र हो : एमाले नेता आचार्य


नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख नीरज आचार्यले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई ‘युवाको स्वतःस्फूर्त अभिव्यक्ति’ नभई योजनाबद्ध रूपमा हाइज्याक गरिएको हिंसात्मक आक्रमणका रूपमा चित्रण गरेका छन्।

शनिबार खोटाङको सदरमुकाम दिक्तेल खलङ्गामा आयोजित बृहत् जनसभामा उनले एमालेले अघि सारेको वर्तमान जनप्रदर्शनलाई प्रतिगामी षड्यन्त्रविरुद्ध संविधान, लोकतन्त्र र जनताको पक्षमा पुनः उभिने अभियानका रूपमा व्याख्या गर्दै देशलाई अस्थिर बनाउन खोज्ने शक्तिहरू सक्रिय रहेको आरोप लगाएका थिए ।

आचार्यका अनुसार जेनजी आन्दोलनले नेपाली राजनीतिक संरचना, सामाजिक सम्बन्ध र शासन प्रणालीमै गम्भीर प्रभाव पारेको छ। पश्चिमी समाजशास्त्रीय विमर्शबाट आएको ‘जेनजी’ शब्द नै नेपाली उमेर–समूह संरचनासँग मेल नखाने अवधारणा भएको उल्लेख गर्दै उनले सो नामले युवालाई अलग मानसिक वर्गका रूपमा परिभाषित गरी मनोवैज्ञानिक दूरी बढाइएको दाबी गरे।

उनले आन्दोलनका क्रममा देखा परेका AI–निर्मित भिडियो, फेक अकाउन्ट, डिजिटल अपरेसन र गलत सूचनाहरू धेरैजसो बाह्य स्रोतबाट सञ्चालित भएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको भन्दै त्यही गतिविधिले आन्दोलनलाई हिंसात्मक मोडमा धकेलेको आरोप लगाएका थिए ।

आचार्यले काठमाडौँमा भएको आगजनी, तोडफोड तथा सरकारी–निजी सम्पत्तिमाथि भएका आक्रमणलाई सामान्य असन्तोष होइन, ‘विशेष तयारी, रणनीति, रासायनिक प्रयोग र भूराजनीतिक संलग्नताको परिणाम’ भएको दाबी गरे। उनले युवाहरूका सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल स्वतन्त्रतासम्बन्धी जायज माग एमालेले सम्मान गर्ने स्पष्ट पार्दै, त्यही मागलाई स्वार्थी तत्त्व र बाह्य प्रभावले दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा विघटन, सरकार निर्माण र वर्तमान राजनीतिक गतिरोधबारे टिप्पणी गर्दै उनले अहिलेको सत्ता संरचना संविधानले नचिनेको बताए। पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्नु संविधानको मर्मविपरीत भएको दाबी गर्दै दलहरूमध्यक्ष सहमति बिना गरिएको प्रतिनिधि सभा विघटनले लोकतान्त्रिक संरचना कमजोर पार्ने प्रयास भएको आरोप लगाए। विगतमा एमाले नेतृत्वमा गरिएको प्रतिनिधि सभा विघटन अहिलेको घटनासँग तुलना गर्न नसकिने उल्लेख गर्दै उनले त्यतिबेला सर्वोच्च अदालतको आदेशलाई सम्मानपूर्वक स्वीकार गरिएको तर अहिलेको विघटन कानुनी ढाँचाबाहिर गरिएको दाबी गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट