क्रान्तिकारीका अध्यक्ष शाहसहित तीन पदाधिकारी पदमुक्त, संगठनको कमान्ड उषाकिरणलाई
नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र शाहसहित तीन जना पदाधिकारीलाई संगठनको जिम्मेवारीबाट पदमुक्त गरिएको छ।
संगठनभित्र अराजकता, अनुशासनहीनता र व्यक्तिवादी प्रवृत्ति बढेको तथा राजावादी मुद्दा बोक्नेहरूलाई संरक्षण गरेको भन्दै संगठनले यो कडा कदम चालएको हो। महासचिव उषाकिरण आजाद कामीद्वारा जारी प्रेसवक्तव्य अनुसार अध्यक्ष वीरेन्द्र शाह, उपाध्यक्ष रूपा बुढामगर र सचिव डिबी शाहीलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरिएको छ। पदमुक्त गरिएका तीनै जना नेताहरू २०८१ मंसिर अन्तिम साता पोखरामा सम्पन्न २३औँ राष्ट्रिय सम्मेलनबाट पदाधिकारीमा चयन भएका थिए।
कारबाहीअघि केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक बस्नुका साथै सम्बन्धित तल्ला कमिटीहरूसँग आवश्यक परामर्श र छलफल गरिएको थियो। वक्तव्यमा संगठनको नीति, विधि, पद्धति र सामूहिक निर्णयविरुद्ध गतिविधि गर्ने छुट कसैलाई नभएको स्पष्ट पारिएको छ।
नेताहरूमाथि गुटबन्दी सिर्जना गर्ने, पदीय मर्यादा विपरीत व्यक्तिगत स्वार्थका गतिविधि गर्ने, जातिवाद, क्षेत्रीयतावाद तथा सामन्तवादी-प्रतिक्रियावादी प्रवृित्तलाई प्रश्रय दिएको गम्भीर आरोप लगाइएको छ। यस्ता प्रवृत्तिले समग्र विद्यार्थी आन्दोलनलाई नै दिशाहिन बनाउने खतरा रहेकाले कारबाही गर्न बाध्य हुनुपरेको संगठनको निष्कर्ष छ।
अर्को निर्णय नभएसम्मका लागि संगठनको दैनिक कार्यसञ्चालनको जिम्मेवारी कार्यालय प्रमुखसमेत रहेका महासचिव उषाकिरण आजाद कामीले सम्हाल्ने छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस