पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा आपत्ति
वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ पर्नुभएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले गम्भीर आपत्ति जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा बिहीबार जारी विज्ञप्तिमा श्रेष्ठको निवास तथा पत्रिकाको कार्यालयमा गरिएको खानतलासीप्रति समेत कडा आपत्ति प्रकट गरिएको छ।
सरकारका गलत निर्णयहरूको आलोचना गर्नु र जनताको पक्षमा निर्भीकतापूर्वक कलम चलाउनु पत्रकारको संवैधानिक अधिकार भएको स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, “आलोचनात्मक आवाजलाई नियन्त्रण गर्ने जुनसुकै प्रयास लोकतान्त्रिक व्यवस्थामाथिको गम्भीर प्रहार हो।”
पार्टीले श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न तथा आमसञ्चार माध्यमहरूलाई भयमुक्त वातावरणमा काम गर्ने भरपर्दो सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गरेको छ।
यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघ, समग्र सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दललगायत लोकतन्त्रप्रति प्रतिबद्ध सम्पूर्ण शक्तिहरूलाई एकजुट भएर आवाज उठाउन अपिलसमेत गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस