काठमाण्डौ ओर्लिएलगत्तै के भने देउवाले हेर्नुहोस् पूर्णपाठ
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको आह्वान गर्नुभएको छ। करिब साढे पाँच महिनापछि काठमाडौं फर्किएपछि देउवाले पार्टी एकतामा जोड दिँदै आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पारेका छन् ।
देउवाले कांग्रेसले एकताबद्ध भई देशका अन्य क्रियाशील राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । साथै, पार्टीभित्र देखिएका असहमति र निराशालाई तुरुन्त समाधान गर्नुपर्नेमा उनको जोड छ।
देउवाले भने, "मुलुककै मियो दलमा विवाद हुँदा देशको राष्ट्रियता नै कमजोर हुन सक्छ। तसर्थ, आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदाता लगायत सम्पूर्ण नेपाली जनतामा— कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो। सोही नीति अनुसार सबैले त्याग, बलिदान र सङ्घर्ष स्वीकार गरेर अघि बढ्न अपिल गर्न चाहन्छु ।"
कांग्रेस कसैको अहङ्कार (इगो) मा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताएका छन् । आफू सत्ता प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको दोहोर्याउँदै उनले वि.सं. २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग पनि स्मरण गराएका छन् । वर्तमान समयमा पनि सर्वपक्षीय राष्ट्रिय एकता अपरिहार्य रहेको उनको भनाइ छ।





तपाईको प्रतिक्रिया दिनुहोस