Techie IT
२०८३ श्रावण ३१, आइतबार

हिम्मत छ भने मलाई हटाएर देखाऊ - अध्यक्ष ओली

उनले पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ‘किर्ना’ को संज्ञा दिएका छन्


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज चर्को रूपमा उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृह प्रदेशबाट आफ्ना आलोचकहरूलाई कडा चुनौती दिएका छन्। उनले आफूलाई कसैले हटाउन नसक्ने दाबी गर्दै विरोधीहरूप्रति आक्रामक रूप प्रस्तुत गरेका छन्।

आइतबार एमाले नेतृत्व तहबाट भएका विभिन्न सार्वजनिक कार्यक्रममा पार्टीभित्रको तीव्र अन्तरद्वन्द्व छताछुल्ल भएको छ। अध्यक्ष ओलीले आफूविरुद्धको मोर्चाबन्दी र नेतृत्व फेर्ने बहसलाई ठाडै अस्वीकार गर्दा, पार्टीभित्रकै अन्य शीर्ष नेताहरूले भने यस विपरीतका धारणा सार्वजनिक गरेका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गर्नेहरूमाथि तीखो प्रहार मात्र गरेनन् उनले भने, “पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन्। अध्यक्ष हटाउने कुरा ठट्टा हो? उरन्ठेउलाहरू भेला भएका छन्, चिया खाएको छ, छिटो हटाउन भनेका छन्।” चियागफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तन नहुने भन्दै उनले महाधिवेशनको प्रक्रिया कुर्न चेतावनी समेत दिएका थिए ।

झापामा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन कार्यक्रममा पनि ओलीको यही आक्रामक शैली कायम रह्यो। उनले पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ‘किर्ना’ को संज्ञा दिएका छन् । “किर्नाले पनि टन्न खाएर अघाएपछि भैँसीको जिउबाट पुक्लुक्क भुइँमा झर्छ। एमालेलाई पनि भैँसी बनाउन खोजेका छन् साथीहरूले,” कटाक्ष गर्दै उनले भने, “अध्यक्षलाई हटाउने रे! हटाइदेऊ न त, ढिलो भयो भने छिटो हटाऊ। तर कोही हस्ताक्षर गर्दै हिँडेका छन्, यसको पछाडि केही दम छैन।”

साथै, पार्टी एकताबद्ध भएर प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध लाग्नुपर्नेमा जोड दिँदै उनले आगामी निर्वाचनका लागि वडा तहदेखि नै ५१ प्रतिशतभन्दा बढी मत ल्याउनेगरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीको अभिव्यक्तिप्रति पार्टीभित्रैबाट पनि विरोधका स्वरहरू उठेका छन्। एमाले नेता झपट रावलले कार्यकर्तालाई ‘आवारा’ भन्नु मार्क्सवादी सिद्धान्तविपरीत भएको टिप्पणी गरेका छन्। पार्टी कसैको निजी कम्पनी नभएको उल्लेख गर्दै उनले सुधारको माग गर्नेलाई अपमान गर्ने प्रवृत्ति गलत भएको बताए।

झापा र इलामबाट अध्यक्ष ओलीले “मलाई हटाएर देखाऊ” भन्दै शक्ति प्रदर्शन गरिरहँदा, काठमाडौँबाट महासचिव पोखरेलले हार स्वीकार गर्नु र पूर्वराष्ट्रपति भण्डारीले नयाँ बाटोको वकालत गर्नुले एमालेभित्र गहिरो मतभेद र ध्रुवीकरण चुलिएको प्रस्ट संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट