जोखिममा बस्ती बसाल्नु गम्भीर भूल भयो - पूर्वप्रधानमन्त्री नेपाल
भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट पुग्नुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले बाढी प्रभावितहरूको सुरक्षित स्थानमा व्यवस्थित पुनःस्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्दै उहाँले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नुभन्दा सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रूपमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जलवायु परिवर्तनका कारण विपद्का घटनाहरू तीव्र गतिमा बढ्दै गएको उल्लेख गर्दै नेता नेपालले आगामी दिनमा आउन सक्ने अझ ठूला विपद् सामना गर्न पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बाढीले क्षति पुर्याएका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रूपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्छ र प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थित नयाँ बस्ती निर्माण गरी पुनःस्थापना गर्नुपर्छ ।’
अवलोकनपश्चात् विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको अन्तरक्रियामा उहाँले बाढीपछिको खोज, उद्धार, राहत र व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभएको थियो । विपद् व्यवस्थापनमा स्थानीय तहसहित विभिन्न निकायबाट भएको प्रयासको प्रशंसा गर्दै उहाँले प्रभावितहरूलाई छिटो र सहज ढङ्गले अस्थायी तथा स्थायी आवासको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।



तपाईको प्रतिक्रिया दिनुहोस