पुँजीवादी अर्थतन्त्रबाटै समृद्धि सम्भव: गगन थापा
कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुँजीवादी अर्थव्यवस्थाबाट नै मुलुक समृद्ध हुने धारणा व्यक्त गरेका छन् ।
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवस तथा अन्तरक्रियामा आज पोखरामा उद्घाटन गर्दै महामन्त्री थापाले देश र नागरिक समृद्धि भएमात्र विकास निर्माणले दूर्त गति लिने विश्वास व्यक्त गरे ।
“नेपाली कांग्रेस देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहन्छ”, थापाले भने, “सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्न सक्यो भने मात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ ।” अर्थतन्त्र बलियो नभएसम्म सरकारले कुनै पनि विकास निर्माणका कार्यलाई गति दिन नसक्ने भनाइ थापाको छ ।
उनले लामो समयदेखि कानुन बन्न नसक्दा सरकारले अध्यादेश ल्याएको उल्लेख गरे । नेपाली कांग्रेसले आफूले गरेका कामको बारेमा जनतामा प्रचार गर्न नसक्दा पछि परेको बताउँदै उनले विपीको पालादेखि नै विर्ता उन्मूलनका काम र हरेक नागरिक समृद्ध हुनुपर्छ भन्ने नीति ल्याइएको उल्लेख गरेका छन् । नेपाल प्राकृतिक रुपमा अत्यन्तै धनी भएकाले पर्यटनसम्बन्धी स्पष्ट नीति जरुरी भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्वतन्त्र रुपमा उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन आवश्यक रहेको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेलले मौद्रिक तथा वित्तीय नीति सन्दर्भ, अर्थविद् तथा व्यवसायी अरुणकुमार सुवेदीले पूर्वाधारः शिक्षा, स्वास्थ्य पर्यटन सन्दर्भ र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजीक्षेत्र सन्दर्भका विषयमा आधारपत्र प्रस्तुत गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस