स्ववियु निर्वाचनको मुखैमा नेविसंघ उग्र बन्दै, क्याम्पसहरूमा तालाबन्दी र आगजनी

काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) उग्र बन्दै गएको छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । कांग्रेस नेता डा.शेखर कोइराला पक्षले उक्त क्याम्पसको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको हो ।
कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा आज (बुधबार) दिउँसो १ः०० बजे निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको छ । सो ताला भने २ः०० बजे प्रहरी कार्यालय फोडेको छ ।
हिजो (मंगलबार) कांग्रेस संस्थापन पक्षबाट नेविसंघका प्रज्वल विष्ट र कोइराला पक्षबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । नेविसंघले विष्टलाई नै आधिकारिक उम्मेदवार भएको दाबी गरेको छ ।
काठमाडौंको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरमा बागी उम्मेदवारको नाम दर्ता गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस