बेलबारी बहुमुखी क्याम्पसमा सचिवबाहेक सबै पदमा अखिल (क्रान्तिकारी) विजयी
.png)
मोरङ, बेलबारी | बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव पद बाहेक सबै पदमा अखिल (क्रान्तिकारी)ले विजय हासिल गरेको छ। सभापतिमा अखिल (क्रान्तिकारी)का कपिल बिष्ट ‘प्रेम’ विजयी भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा बिष्टले १९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अनेरास्ववियुका प्रशान्त पोखरेलले १६१ मत ल्याएका थिए । बिष्टले ३४ मतको अन्तरले जित हात पारेका हुन् ।
सचिव पदमा भने अनेरास्ववियुका अर्जुन कोइरालाले १८३ मत ल्याउँदै अखिल (क्रान्तिकारी)का दीपेन्द्र राईलाई १३ मतले पछि पार्दै जित हासिल गरे । राईले १७० मत पाएका थिए ।
कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का नवराज थापा १८२ मत ल्याउँदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका शंकर थापाले १६८ मत प्राप्त गरेका थिए ।
सदस्य पदमा पनि अखिल (क्रान्तिकारी)का ओमप्रतीक चौधरी, विक्रम तामाङ, निकेश सुवेदी, सलन राई र सुस्मिता थापा विजयी भएका छन् ।
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको क्याम्पस प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस