Techie IT
२०८३ जेष्ठ ४, सोमबार

धौलागिरि आरोहणमा ज्यान गुमाएकाहरूको शव ल्याउन समस्या


म्याग्दी, २३ असोज,

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भइरहेको छ। प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पर्वतारोहीहरूको शव संकलन गर्न कठिनाइ भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो। आज हेलिकप्टरमा गएको शेर्पासहितको टोलीले घटनास्थलको निरीक्षण गरेर मात्र फर्किएको छ। उहाँले भने, “हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको छ। 

मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव सङ्कलन गरी घटनास्थलबाट ल्याउने प्रयास असफल भएको छ।” धौलागिरि आरोहणका लागि गएका पर्वतारोहीहरू आधारशिविरको ‘हाइक्याम्प’मा बास बसेका थिए। उनीहरू आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मङ्गलबार भेटिएको थियो। 

१४ जनाको समूहमा रहेका पर्वतारोहीहरूले आरोहणमा जोखिम भोगेर नौ जनाले बीचमै फर्किएका थिए। धौलागिरि हिमाल संसारको सातौँ (८,१६७ मिटर) अग्लो हिमाल हो, जुन म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्छ। पर्यटन विभागका अनुसार चालु शरदयाममा रुसका १४ जनाले धौलागिरि आरोहणको अनुमति लिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट