अज्ञात समूहद्वारा कुटिए रास्वपा नेता बदन भण्डारी

अज्ञात समूहबाट कुटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक विभागका सचिव बदन भण्डारीको उपचार जारी छ।
बुधबार राति कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित आफ्नो घर फर्किँदै गर्दा उनलाई आक्रमण गरिएको थियो। मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारी सवार गाडी रोकेर उनको टाउको र खुट्टामा रड प्रहार गरी फरार भएका थिए।
‘हिजो बेलुका ८:३० बजे अफिसबाट घर फर्कँदा कपन प्रगतिचोकमा मेरो गाडी रोकेर बाइकमा आएका तीन जना व्यक्तिहरूले ज्यान मार्ने उद्देश्यले ममाथि आक्रमण गरे,’ भण्डारीले बताए। उनले थपे, ‘तीमध्ये दुई जनाले मेरो टाउको र शरीरका विभिन्न भागमा रड प्रहार गरे, जबकि तेस्रो व्यक्तिले बाइकबाट खुकुरी निकाल्यो। म रगत चुहाउँदै गाडी त्यही छोडेर घरमा भाग्न सफल भएँ।’
आक्रमणपछि उनलाई चुच्चेपाटीस्थित स्तुपा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। रड प्रहारबाट चोट लागेको उनको टाउकोमा १० वटा टाँका लगाइएको छ। भण्डारी हाल उपचाररत छन्।
भण्डारीले यो आक्रमण राजनीतिक ‘रिसिबी’का कारण भएको दाबी गरेका छन्। उनले भने, ‘मलाई केही समयअघि फोनमार्फत धम्की दिइएको थियो र मेरा अफिस वरिपरि मेरोबारे सोधखोज भइरहेको जानकारी प्राप्त भएको थियो। राजनीतिक विचार र आफ्ना कुरा राखेकै आधारमा मेरो ज्यान लिन आक्रमण गरिएको हो।’
प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र बनाएको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेज हेरेर उनीहरूको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस