रोकिएन श्रृंखलामाथि साइबर आक्रमण, सिसन बानियाँले मागे माफी

जेनजी आन्दोलनका क्रममा साइबर आक्रमणको शिकार बनेकी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले केही दिनअघि सामाजिक सञ्जालमार्फत आलोचकहरूलाई जवाफ दिएकी थिइन्। तर, अझै पनि उनीमाथि हुने आक्रमण रोकिएको छैन।
श्रृंखलामाथि प्रश्न उठाउनेमध्ये उनका पूर्व प्रेमीका रूपमा चर्चित सिसन बानियाँ पनि थिए। श्रृंखलाले ‘मिस वर्ल्ड’ मा प्रतिस्पर्धा गर्दा ‘ब्युटी विथ ए पर्पोज’ शीर्षकमा जितेको रकमबारे बानियाँले प्रश्न उठाएपछि विवाद चर्किएको थियो। भ्रष्टाचार र ‘नेपो किड्स’ विरुद्धको बहस चलिरहेका बेला श्रृंखलाले पाएको ५० हजार डलर कहाँ खर्च भयो भन्ने उनको प्रश्नपछि वातावरण झन् तातिएको थियो।
श्रृंखलाले आफ्नो स्पष्टीकरणमा ५० हजार नभई २० हजार डलर मात्रै प्राप्त भएको बताउँदै त्यसको खर्चबारे विवरणसमेत दिएकी थिइन्।
तर, श्रृंखलाको भिडियोपछि सिसनले फेरि सामाजिक सञ्जालमार्फत लामो प्रतिक्रिया दिँदै आत्मालोचना गरेका छन्। उनले आलोचनात्मक प्रश्नले श्रृंखलामाथि ठूलो आघात पुर्याएको स्वीकार गर्दै माफी मागेका छन्। “त्यो समयमा इमोशनमा बग्दा यस्तो परिणाम आउँछ भन्ने थाहा थिएन,” उनले लेखेका छन्।
सिसनले श्रृंखलालाई ‘बहिनी’ सम्बोधन गर्दै विगतमा उनको प्रतिभाका ठूला समर्थक भएको स्मरण गरे। साथै, अहिले पनि प्रणालीसँग लड्न उनीसँगै खडा हुन तयार रहेको जनाउँदै, “देशमा अझै भ्रष्टाचार र राजनीति नै मूल मुद्दा छन्, आवश्यक परे लाइभ पोडकास्टमै छलफल गर्न तयार छु,” भनेका छन्।
‘ब्युटी विथ ए पर्पोज’ पुरस्कार रकमबारे आफ्नो तथ्यगत गल्ती भएको स्वीकार गर्दै उनले भने, “माफी माग्न वा न माग्नुपर्छ भन्ने कुरा होइन, तर म अब प्रतिक्रियाशील नहुने, राम्रो मान्छे बन्ने वाचा गर्छु।”
तपाईको प्रतिक्रिया दिनुहोस