Techie IT
२०८२ असोज २८, मंगलबार

जेनजी नेता, कार्यालय गएर कर्मचारी धम्क्याउने शाही ठगी र बैंकिङ कसुरका अभियुक्त

उनले ५५ मत मात्र प्राप्त गरेका थिए।


रातो घेराका अर्जुन शाही

जेनजी आन्दोलनपछि उच्च तहका सरकारी कर्मचारीलाई धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको खुलेको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीले आफ्नो टोलीसहित नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेर ज्ञापनपत्र बुझाउने नाममा अधिकारीहरूलाई धम्क्याउने काम गरेको भेटिएको छ। उनका भिडियो फुटेजहरूमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई राजीनामा दिन र निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै तानेर ल्याउने धम्की दिएको देखिन्छ।

तर,  प्रहरी अनुसन्धानमा शाही ठगी र बैंकिङ कसुरका अभियुक्त पाइएको छ। उनलाई ३० वैशाख २०८२ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले वैदेशिक रोजगारी ठगी मुद्दामा पक्राउ गरेको थियो। त्यस्तै, चेक बाउन्सको मुद्दामा प्रहरी वृत्त महाराजगञ्जमा उनीविरुद्ध उजुरी दर्ता भइसकेको थियो।

शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस सञ्चालन गर्दै, चेक बाउन्स मुद्दामा श्रीकृष्ण फुयाँललाई ३ लाख ८० हजार रुपैयाँ बराबरको चेक दिएको भए पनि रकम नभएपछि चेक साटिन सकेको थिएन। यो घटनासमेत अहिले अदालतमा विचाराधीन छ।

जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएपछि शाही शीतल निवासमा आयोजित शपथग्रहण कार्यक्रममा पनि सहभागी थिए। उनी उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याउँदै अनुगमन र ज्ञापनपत्र बुझाउने अभियानमा सक्रिय देखिएका छन्।

उक्त घटनाले आन्दोलनमा सहभागी केही व्यक्तिहरूको पृष्ठभूमि विवादास्पद रहेको कुरा पनि सार्वजनिक गरेको छ। शाहीविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी तीनवटा मुद्दा अदालतमा विचाराधीन रहेका छन्।

यस्तै, शाहीले १५ वैशाख २०८१ मा इलाम–२ को उपचुनावमा उम्मेदवारी दिएका थिए, जहाँ उनले ५५ मत मात्र प्राप्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट