Techie IT
२०८२ पौष ३, बिहीबार

८३ वर्षपछि धान्द्रुके बाजेले पाए नागरिकता


बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय एक वृद्धले लामो समयपछि नेपाली नागरिकता प्राप्त गरेका छन्।

नागरिकताबाट वञ्चित रहेको विषयमा समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले पहल गर्दै कार्यपालिकाबाट निर्णय गराई उनलाई नागरिकता दिलाएको हो। नाम र जन्मस्थान टुङ्गो नलागेका ती वृद्ध गाउँमा ‘धान्द्रुके बाजे’ उपनामले चिनिँदै आएका थिए।

नागरिकता प्राप्त गरेसँगै उनले पहिलोपटक आठ हजार रुपैयाँ वृद्धभत्ता पनि पाएका छन्। बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार अब उनी राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा सुविधामा पनि समावेश भएका छन्।

लामो समयदेखि भकुण्डेमा बस्दै आएका ती वृद्ध बोल्न नसक्ने तथा परिवारको सम्पर्कसमेत नहुँदा पहिचानविहीन अवस्थामा थिए। नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यका सेवासुविधाबाट उनी वञ्चित हुँदै आएका थिए।

नगरपालिकाको कार्यपालिकाले निर्णय गरेपछि संरक्षक तोकी जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता दिलाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। उनका अनुसार सानै उमेरमा भकुण्डे आएका ती वृद्ध बोल्न नसक्ने भएकाले गाउँलेहरूले ‘धान्द्रुके बाजे’ भनेर सम्बोधन गर्ने गरेका थिए।

हाल उनी नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता प्रक्रिया अघि बढाइएको हो। जीवनको उत्तरार्धमा बाँसका सामग्री बनाउँदै जीविकोपार्जन गर्दै आएका ती वृद्धलाई चन्द्रबहादुर थापा नाम राखी नागरिकता प्रदान गरिएको नगरपालिकाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट