टाउको अलग भएको अवस्थामा शव फेलापरेपछि तनाब बढ्यो
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ ।
ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव टाउको विनाको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिएका छन् । उनका अनुसार महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र भेटिएको हो ।
स्थानीयवासीका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलभित्र रूख काटिएको आवाज सुनिएपछि त्यसतर्फ गएका थिए । तर दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र उनको मोबाइल फोन स्विच अफ भएपछि परिवारका सदस्य तथा स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजतलासका क्रममा जंगलभित्र महतोको टाउको अलग भएको अवस्थामा शव फेला परेको डीएसपी राईले बताए । उनले भने, ‘टाउको अहिलेसम्म फेला परेको छैन । टाउकोको खोजी कार्य जारी छ । घटनास्थलमा शवको मुचुल्का उठाउने काम भइरहेको छ ।’
घटनास्थलमा साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर ल्याई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस