बागलुङमा 'मोडिफाइड' मोटरसाइकलको रजगज
स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण फैलाउने मोटरसाइकल चालकहरूमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले कारबाही तीव्र पारेको छ। बागलुङ बजार क्षेत्रमा विशेष गरी रातिको समयमा चर्को आवाजका कारण सर्वसाधारण आतंकित बनेको जनगुनासो बढेपछि प्रहरीले विशेष अपरेसन चलाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरका अनुसार पछिल्लो दुई दिनमा मात्रै १० वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। ती सवारीसाधनहरूमा जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक र ह्यान्डिल लगायतका पुर्जा परिवर्तन गरिएको पाइएको छ।
सवारी ऐनको व्यवस्था: सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाएमा ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
वरिष्ठ नायब निरीक्षक कुँवरले स्वरूप परिवर्तन गरिएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्र (अस्पताल तथा विद्यालय) मा प्रत्यक्ष असर पुग्ने भएकाले कारबाही अनिवार्य गरिएको बताए। कारबाहीमा परेका मोटरसाइकलका अनधिकृत पार्टपुर्जाहरू निकाली पुनः मापदण्डअनुरूप राख्न लगाइएको छ।
"रातिको समयमा जथाभावी चर्को आवाज निकालेर मोटरसाइकल कुदाउने गुनासो आएपछि हामीले सक्रियता बढाएका हौँ," प्रमुख कुँवरले भने, "यसअघि पनि सात वटा मोटरसाइकल नियन्त्रणमा लिएर ५२ हजार रुपैयाँ राजस्व असुल गरिएको थियो। चालु आर्थिक वर्षको साउन यता मात्रै २ हजार ९०० भन्दा बढी मोटरसाइकललाई कारबाहीको दायरामा ल्याइसकिएको छ।"
यता, चर्को ध्वनिका कारण स्थानीयबासी निकै सास्ती भोग्न बाध्य छन्। बागलुङ नगरपालिका–२ का स्थानीय कृष्ण श्रेष्ठ भन्छन्, "राति सुतेको बेला अचानक बन्दुक पड्किए जस्तो आवाज आउँछ। झसङ्ग भएर ब्युँझिँदा मुटु नै ढुकढुक हुन्छ। यस्तो हर्कतले वृद्धवृद्धा र बालबालिकालाई ठूलो असर पारेकाले प्रहरीले यस प्रकारका उच्छृङ्खल चालकलाई हदैसम्मको कारबाही गर्नुपर्छ।"



तपाईको प्रतिक्रिया दिनुहोस