Techie IT
२०८३ असार ३०, मंगलबार

सञ्चारगृहमा त्रास फैलाउनेलाई जम्मा ५०० जरिवाना, पत्रकार महासंघ आन्दोलित

महासंघको गर्जन: 'यो त राज्य आतंक हो, अन्तर्राष्ट्रियकरण गर्छौँ'


काठमाडौँका विभिन्न संवेदनशील स्थानहरूमा सोमबार नियोजित र शङ्कास्पद रूपमा बेवारिसे छाडिएका गाडीका धनी वा चालकहरू पक्राउ परे पनि जम्मा ५०० रुपैयाँ जरिवाना तिरेर उम्किन सक्ने देखिएको छ। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास, विभिन्न सञ्चारगृह (मिडिया हाउस) र भाटभटेनी सुपरस्टोर अगाडि सवारी आवागमन नै अवरुद्ध हुने गरी यी गाडीहरू राखिएका थिए।

प्रहरीले ती गाडीहरूमा विस्फोटक वा अन्य शङ्कास्पद वस्तु फेला नपरेको भन्दै सामान्य ट्राफिक नियम उल्लंघनको कसुर अन्तर्गत मात्रै अनुसन्धान अघि बढाएपछि यो घटनामा राज्यकै 'रहस्यमय मौनता' रहेको आशंका उब्जिएको छ।

फितलो कानुन: फौजदारी मुद्दा नचलाइने
काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ती गाडीहरूलाई रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ। आपराधिक उद्देश्य नखुलेको दाबी गर्दै प्रहरीले यसलाई ट्राफिक कारबाहीका लागि जिम्मा लगाएको हो। जसका कारण गाडी छाड्नेहरूमाथि कुनै फौजदारी मुद्दा, थुनछेक वा धरपकड जस्ता कडा कारबाही नहुने निश्चितप्रायः छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले गाडीका धनी पहिचानका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरिएको बताएका छन् । उनले भने:- “ती गाडीका धनी वा चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कारबाही हुनेछ। सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी साधन राखेको कसुरमा पहिलो पटकका लागि जम्मा ५०० रुपैयाँ जरिवाना गर्ने अधिकार ट्राफिकसँग छ।”

महासंघको गर्जन: 'यो त राज्य आतंक हो, अन्तर्राष्ट्रियकरण गर्छौँ'
सञ्चारगृह र जनप्रतिनिधिको निवासलाई लक्षित गरी गरिएको यो घेराबन्दीलाई ५०० रुपैयाँ जरिवानामा टुङ्ग्याउन खोजिएपछि नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। कारबाहीका नाममा राज्यले झारो टार्न खोजेको महासंघको निष्कर्ष छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आक्रोश पोख्दै भने:- "यदि ५०० रुपैयाँ जरिवाना तिराएर दोषीलाई उन्मुक्ति दिइन्छ र यो घटनाको अन्तर्निहित नियतमाथि गम्भीर अनुसन्धान हुँदैन भने, यो आमसञ्चार तथा पत्रकारितामाथि राज्यले सङ्गठित रूपमा गरेको आक्रमण ठहरिन्छ। यो पत्रकारितामाथिको सिधै 'राज्य आतङ्क' हो। यो विषयलाई हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाउने छौँ।"

मिडिया हाउसहरूमा के-कस्तो अभिप्रायका साथ त्रास फैलाउने काम गरियो र त्यो हर्कत कहाँबाट कसको इसारामा भएको हो भन्ने कुराको अन्तिम निचोडमा नपुगी महासंघ पछाडि नहट्ने महासचिव दाहालले स्पष्ट पारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट