कान्ति लोकपथदेखि बीपी र अरनिको राजमार्गसम्म ठप्प, रात्रिकालीन यात्रामा रोक
लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो खस्ने र बाटो हिलो हुने समस्याले गर्दा प्रमुख राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, इलाम, र अर्घाखाँचीलगायतका जिल्लामा यातायात सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ।
विभिन्न राजमार्ग र सडकखण्डहरूको पछिल्लो अवस्था-
कान्ति लोकपथ र बीपी राजमार्गमा रात्रिकालीन यात्रामा प्रतिबन्ध
कान्ति लोकपथ (मकवानपुर): बकैया गाउँपालिका-११, घट्टेपाखामा बिहीबार साँझ सडक माथिबाट पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षातको जोखिमलाई मध्यनजर गर्दै यो सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन चलाउन रोक लगाइएको छ।
बीपी राजमार्ग (काभ्रे-सिन्धुली-खुर्कोट): सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै यो राजमार्गमा पनि रात्रिकालीन यात्रामा पूर्ण रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र यातायात सुचारु रहनेछ।
मेची राजमार्ग (इलाम): हिलोका कारण यातायात ठप्प
असार २३ गतेदेखि इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्गमा अत्यधिक वर्षाका कारण सडक हिलो भई सवारी साधन गुड्न नसक्ने अवस्था सिर्जना भएको छ। यो सडक पूर्ण रूपमा अवरुद्ध भए पनि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक): पहिरोले सडक अवरुद्ध
असार ३१ गते भोटेकोसी गाउँपालिका-४, जिरोकिलो नजिकै सडक माथिबाट विशाल पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। सडक डिभिजन र प्रहरीको टोलीले पहिरो पन्छाउने कार्य जारी राखेका छन्।
सालझन्डी-ढोरपाटन सडक (अर्घाखाँची): ढुंगा खसेर अवरोध
असार २८ गते पाणिनी गाउँपालिका-२, ढुंगेखोलास्थित सडकखण्डमा माथिबाट विशाल ढुंगा खसेपछि सालझन्डी-ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मौसम प्रतिकूल रहेकाले र सडकहरू जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि नजिकैको प्रहरी चौकी वा ट्राफिक कन्ट्रोल रूममा सम्पर्क गरी सडकको अवस्था बुझ्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस