यातायात कार्यालय जानुअघि यी कुरा ध्यान दिनुहोस्
यातायात व्यवस्था विभागले आफ्ना डिजिटल प्रणालीहरूलाई थप व्यवस्थित, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन तथा नयाँ करको दर समायोजनको काम सुरु गरेको छ।
विभागले सोमबार एक सूचना जारी गर्दै प्राविधिक स्तरोन्नतिको यो कार्य सम्पन्न गर्न करिब एक हप्ता लाग्ने जनाएको छ। प्रणाली अपडेट भइरहेकाले अति आवश्यक अवस्थामा बाहेक यातायात सम्बन्धी अन्य सेवाका लागि आगामी साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयहरूमा सम्पर्क राख्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रदेश सरकारहरूले हेरफेर गरेका नयाँ करका दरहरू प्रणालीमा प्रविष्टि (इन्ट्री) तथा मिलान गर्ने कार्य भइरहेको विभागले स्पष्ट पारेको छ। यसका साथै प्रणालीको सुरक्षा सुदृढीकरणका लागि डाटाबेस माइग्रेसनको काम पनि सँगसँगै अघि बढाइएको हो।
प्रणाली स्तरोन्नतिको अवधिमा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति यातायात व्यवस्था विभागले क्षमासमेत मागेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस