शुक्लाफाँटा निकुञ्जमा हराएका ३ महिला सकुशल फेला, रातभरी के गरेर बसिन् जङ्गलमा
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न जाने क्रममा सम्पर्कविहीन भएका तीन जना महिला सोमबार बिहान सकुशल फेला परेका छन्। बेल्डाँडी गाउँपालिका–३ चउन्नीका लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर फोनमार्फत सम्पर्कमा आएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरूले फोन गरेर आफूहरू जङ्गली जनावरको डरले रातभर रूखमा बसेको जानकारी दिँदै उद्धारका लागि आग्रह गरेका थिए।
सूचना पाएलगत्तै निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंहदल गणका सहसेनानी सुमन केसीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब ४ किलोमिटर टाढाबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ। सेनाका अनुसार उनीहरू आइतबार लुकीछिपी निकुञ्ज प्रवेश गरेका थिए।
यसैबीच, निकुञ्जभित्रै च्याउ खोज्न गएका भीमदत्त नगरपालिका–१९ का अन्य १४ जना महिलाहरू भने अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले निकुञ्ज क्षेत्रमा सघन सर्च अपरेसन जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस