Techie IT
२०८३ भाद्र २१, आइतबार

अमेरिकाद्वारा रसुवामा नजान आफ्ना नागरिकहरुलाई निर्देशन


संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिक तथा पर्यटकहरूका लागि नयाँ ‘ट्राभल एडभाइजरी’ (यात्रा सुझाव) जारी गर्दै सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ। 

अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा अद्यावधिक गरेको विवरणअनुसार समग्र नेपाललाई ‘दोस्रो स्तरको बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखिएको छ भने प्राकृतिक प्रकोपबाट अति प्रभावित रसुवा जिल्लाका केही भागलाई भने ‘चौथो स्तरको यात्रा नगर्नुहोस्’ श्रेणीमा वर्गीकरण गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमानाका आसपास बाढी र पहिरोका कारण व्यापक भौतिक क्षति पुगेको छ। उक्त क्षेत्रमा यातायात तथा सञ्चार सेवाहरू अवरुद्ध हुनुका साथै हालसम्म पनि खोज, उद्धार र पुनःस्थापनाका कार्यहरू जारी रहेकाले त्यसतर्फ यात्रा नगर्न कडा चेतावनी दिइएको छ। साथै, भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका बस्ती, होचा भूभाग र अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन पनि भनिएको छ।

विपद प्रभावित क्षेत्रमा सर्वसाधारण वा विदेशी नागरिकहरू आफैं खोजतलासका लागि प्रवेश नगर्न र नेपाली अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्न सुझावमा जोड दिइएको छ। 

अमेरिकाले नेपाल नियमित रूपमा भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहने मुलुक भएको स्मरण गराउँदै, विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा सडक अवरुद्ध हुने र उद्धारकार्य प्रभावित बन्न सक्ने जनाएको छ।

यसैबीच, नेपालको स्वास्थ्य तथा आकस्मिक उपचार सेवाको सीमित क्षमताप्रति पनि अमेरिकी नागरिकको ध्यानाकर्षण गराइएको छ। राजधानी बाहिर गुणस्तरीय स्वास्थ्य सेवाको अभाव हुन सक्ने र उपचारबापतको खर्च विदेशी नागरिकले आफैं व्यहोर्नुपर्ने भएकाले अनिवार्य रूपमा यात्रा स्वास्थ्य बीमा (ट्राभल हेल्थ इन्स्योरेन्स) गर्न र आवश्यक औषधिहरू साथमै राख्न सुझाइएको छ।

अमेरिकी सरकारले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूलाई स्थानीय घटनाक्रम र मौसमसम्बन्धी सूचनामा सधैं अपडेट रहन तथा आवश्यकताअनुसार आफ्नो यात्रा योजना फेरबदल गर्न आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट