Techie IT
२०८३ जेष्ठ ४, सोमबार

चाडपर्वमा भारतीय चिनीलाई नेपाली ‘ब्रान्डिङ’: प्रहरीद्वारा ६१ बोरा चिनी बरामद


चाडपर्वको मौका छोपेर भारतीय चिनीलाई नेपाली ‘ब्रान्डिङ’ गरी बिक्री गर्ने गिरोह सक्रिय भएको छ। भारतमा उत्पादित चिनीलाई नेपाली चिनीको रूपमा बेच्ने प्रयास गर्दै, नेपाली कम्पनीका नाम लेखिएका बोरामा प्याकिङ गरिएको चिनी प्रहरीले बरामद गरेको छ।

कलैया उपमहानगरपालिका-२५, सिसहनीया गाउँमा तजमोदिन अन्सारीको घरबाट मंगलबार ६१ बोरा चिनी र बोरा सिलाउने मेसिनसहित बरामद गरिएको हो। भारतीय एचबीएल ब्रान्डको चिनीलाई नेपाली रिलायन्स सुगर मिलको नाममा प्याकिङ गरी बिक्री गर्न लागिएको सूचना प्रहरीले पाएको थियो। यद्यपि, व्यापारी पक्राउ पर्न सकेका छैनन्।

बरामद गरिएको चिनीको मूल्य नेपाली बजारमा करिब २ लाख ५९ हजार २ सय ५० रुपैयाँ पर्न आउँछ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार यो पहिलो पटक चाडपर्वको पूर्वसन्ध्यामा यति ठूलो परिमाणमा अवैध रूपमा चिनी बरामद भएको हो।

प्रहरीले बरामद चिनी वीरगञ्ज भन्सार पठाइसकेको छ। यो अवैध कारोबारका पछाडि भारतीय चिनीको तुलनात्मक सस्तो मूल्य रहेको बताइएको छ। भारतीय बजारमा चिनी प्रतिकिलो ६५ रुपैयाँ पर्छ, जबकि सोही चिनी नेपाली बजारमा ल्याएर ८५ रुपैयाँमा बेचिन्छ। नेपालमा उत्पादित चिनीको थोक मूल्य प्रतिकिलो ९८ रुपैयाँ पर्ने गरेको व्यापारीहरूले बताएका छन्।

भारतीय चिनीको अवैध पैठारी रोक्न प्रहरी र भन्सारले कडाइका साथ छानबिन र कारबाही अघि बढाइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट