ट्रक जलाउने ९ जना पक्राउ, दुई जना विरुद्ध ज्यान मुद्दा दर्ता
झापामा दुई वटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईका ९ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था, नागरिक प्रतिरक्षा बल (पीडीएफ)का झापा संयोजक भीम तुम्बापो लिम्बू र महाअभियानका जिल्ला सहसचिव सुरेश चौधरी सहित अन्य सात जना रहेका छन्।
प्रहरीका अनुसार, भीम तुम्बापोलाई मंगलबार धरमपुर बजारबाट र चौधरीलाई सोमबार बिर्तामोडबाट पक्राउ गरिएको हो। अन्य सात जना समर्थकलाई बिर्तामोडस्थित नयाँ बस पार्कबाट गएराति पक्राउ गरिएको छ । उनीहरू काठमाडौँ भाग्नको प्रयास गर्दै थिए। झापा संयोजक तुम्बापो र चौधरीमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ।
पक्राउ गरिएका व्यक्तिहरूले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा भारतीय मालवाहक ट्रकमा आगजनी गरेको र चालकलाई ज्यान मार्ने प्रयास गरेको आरोप लागेका छन्। झापा जिल्ला अदालतले उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइसकेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस