नवलपरासीमा देशकै सबैभन्दा लामो झोलुंगे पुल आज उद्घाटन हुदैँ
.jpg)
सिराहा र धनुषा जोड्ने कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ। फागुनमा उद्घाटन भएको कमला नदीको पुल हालसम्म देशकै सबैभन्दा लामो झोलुंगे पुल थियो। तर, बिहीबारदेखि नवलपरासी (पश्चिम) सुस्तामा बनेको नारायणी नदीको झोलुंगे पुलले यो रेकर्ड तोड्नेछ।
देशकै सबैभन्दा लामो, १,५७१ मिटर लामो यो झोलुंगे पुल राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आज उद्घाटन गर्नेछन्। पुलले सुस्ता गाउँपालिका–५ स्थित सुस्ता र सख्खर बिनही गाउँलाई जोड्नेछ, जसले त्यहाँ बसोबास गर्ने ३५० परिवारलाई आवतजावत गर्न सहज बनाउनेछ। यसअघि यी गाउँका बासिन्दाले आफ्नै देशमा यात्रा गर्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो, जुन अब हट्ने भएको छ।
पुल निर्माणमा ९ वर्षको यात्रा
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेका अनुसार यो पुल निर्माण गर्न ९ वर्ष लागेको हो। २०७२ सालमा सुरु भएको निर्माण कार्य हाल आएर पूरा भएको छ। त्रिशूली आश्रय जेभीले ठेक्का लिएको यस परियोजनामा करिब २५ करोड रूपैयाँ खर्च भएको छ।
सिराहाको रेकर्ड तोड्दै सुस्ताको पुल
कमला नदीमा बनेको १५००.४४ मिटर लामो सिराहाको झोलुंगे पुल हालसम्म नेपालकै सबैभन्दा लामो थियो। उक्त पुल २०८० साल फागुन १२ गते उद्घाटन गरिएको थियो, जसले सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाललाई जोड्छ। त्यसअघि महाकाली नदीमा बनेको दोधारा–चाँदनी पुल सबैभन्दा लामो मानिन्थ्यो, जसको लम्बाइ १,४५२ मिटर छ।
स्थानीय पूर्वाधार विभागका अनुसार देशभर अहिले १० हजार ४१० भन्दा बढी झोलुंगे पुल निर्माण भइसकेका छन्। यसमा संघीय, प्रदेश, स्थानीय सरकार र दातृ निकायहरूको पनि महत्वपूर्ण योगदान रहेको छ। गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ७४० वटा झोलुंगे पुल बनेका थिए, भने चालु आर्थिक वर्षमा थप ६ सयवटा पुल निर्माण गर्ने लक्ष्य रहेको छ।
२०७५ सालमा सरकारले सार्वजनिक तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गर्ने योजना ल्याएको थियो। उक्त योजनाअनुसार पहिचान गरिएका १४३ तुइनमध्ये १४१ वटा तुइन झोलुंगे पुलले प्रतिस्थापन गरिसकिएको छ। यो योजनाले ग्रामीण क्षेत्रमा यातायात र आवतजावतमा सहजता ल्याएको छ।
अब सुस्तामा देशकै लामो झोलुंगे पुल उद्घाटनसँगै, नेपालले पूर्वाधार विकासमा नयाँ आयाम सुरु गरेको छ, जसले ग्रामीण भेगको जनजीवनलाई थप सहज बनाउनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस