Techie IT
२०८२ असार ७, शनिबार

बाढी र हिलोले दुम्कीवास–दाउन्ने सडक ठप्प, यात्रु अलपत्र


लगातारको वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीवास–दाउन्ने सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ । विनयी खोलामा आएको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल सडक खण्ड चार दिनदेखि ठप्प छ । सडक अबरुद्ध भएपछि यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्तै कठिन परिस्थितिको सामना गरिरहेका छन् ।

बिहीबार राति काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको अस्थायी डाइभर्सनमा फसेपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको छ । बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, “मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।”

त्यस्तै, ३१ वर्षीय शिवनारायण थारु बाढी देखेर आत्तिँदै खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाउन सफल भए । "त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु," उनले भने।

सडक बन्द भएपछि यात्रुहरू घण्टौं पैदल यात्रा गर्न बाध्य छन् भने सवारी चालकहरू जंगलभित्रै गाडीमै रात बिताइरहेका छन्। खाना र पानीको अभावमा यात्रुहरू अत्यन्त पीडित छन् । मालवाहक सवारी साधनहरू पनि बीच सडकमा रोकिएका छन् ।

स्थानीय बासिन्दा, व्यवसायी र सामाजिक संस्थाले शुक्रवार दिनभर यात्रुहरूका लागि निःशुल्क खानाको व्यवस्था गरेका थिए । विनयी त्रिवेणी गाउँपालिका–१ का समाजसेवी गोमा बस्यालका अनुसार शुक्रवार मात्र एक हजार ५०० यात्रुले निःशुल्क भोजन गरेका थिए।

ठेकेदारको लापरबाहीले समस्या चर्कियो

विसं २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डमा अहिले अवस्था अत्यन्त खराब भएको छ। निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक वर्षामा हिलाम्य र कष्टकर बनेको छ। यात्रुहरूका अनुसार ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर पनि सामान्य मर्मत नगरेको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले वर्षा हुँदा हिलो हुनु स्वाभाविक भए पनि निर्माण कम्पनीको लापरबाहीले अवस्था झन गम्भीर बनेको बताए । “स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक समाधान खोज्ने प्रयास जारी छ,” उनले भने।

विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढी आउँदा पटक–पटक बग्ने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिलेसम्म डाइभर्सन आठ पटकसम्म बगिसकेको छ।

स्थानीय प्रशासनले बारम्बार सुधारको दबाब दिए पनि ठेकेदार कम्पनीको उदासीनताले यात्रु र स्थानीयको पीडा झन बढेको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट