एमएफएन १७ मा नेपाली फाइटर रविन्द्र ढाँट च्याम्पियन

नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (MFN 17) मा शानदार प्रदर्शन गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।
शनिबार राति भएको मुख्य प्रतिस्पर्धामा उनले डिफेन्डिङ च्याम्पियन चुनरेङ कोरेन (Chunreng Koren) लाई तेस्रो राउन्डको ५४ सेकेन्डमै प्राविधिक नकआउट (TKO) मार्फत पराजित गर्दै ऐतिहासिक जित हात पारेका हुन्।
यो जितसँगै रविन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् । अब उनका प्रोफेशनल एमएमए रेकर्ड ८ जित र १ हारमा पुगेको छ, जबकि उनले कोरेनको पाँच खेलको जितको शृंखला पनि तोडेका छन्।
‘दि इन्डियन राइनो’ उपनामले चिनिने शक्तिशाली भारतीय फाइटर कोरेनले खेलको सुरुवातदेखि नै आक्रामक ढंगले दबाब सिर्जना गर्न खोजे पनि रविन्द्रले शान्त संयम, रणनीतिक कौशल र उत्कृष्ट डिफेन्समार्फत प्रभावशाली जवाफ दिएका थिए।
तेस्रो राउन्डमा रविन्द्रले खेलको रणनीति नै बदल्दै ग्राउन्ड एन्ड पाउन्ड टेक्निकमार्फत तीव्र प्रहार गरे, जसले कोरेनलाई गम्भीर संकटमा पारेको थियो । निर्णायक कम्बिनेसनपछि रेफ्रीले खेल रोके र रविन्द्रलाई विजेता घोषणा गरे।
विजयी क्षणमा रिंग उत्साहले गुञ्जिएको थियो, र रविन्द्र ढाँटले नेपाली झन्डा गर्वका साथ फहराउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति पुनः प्रमाणित गरे । यो जितसँगै नेपाली एमएमएको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा झनै सशक्त बनेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस