एनपीएल-२ को खेलाडी अक्सन सम्पन्न, चार खेलाडी १५ लाखमा अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सफलतापूर्वक सम्पन्न भएको छ। अक्सनमा ए क्याटेगोरीका ९ खेलाडीमध्ये चार जना सबैभन्दा महँगो, अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन्।
ए क्याटेगोरीबाट सबैभन्दा पहिले देव खनाल अनुबन्ध भएका थिए। उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँसम्म बोली लगाएपछि लक्की ड्रमा चितवन राइनोज भाग्यमानी बनेर अनुबन्ध गर्न सफल भयो।
त्यस्तै, अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले प्रतिस्पर्धात्मक बोली लगाए। लक्की ड्रमा फेरि चितवन राइनोज भाग्यमानी रहँदा अर्जुनलाई अनुबन्ध गर्यो।
पहिलो सिजनमा चोटका कारण अक्सनमा समावेश नभएका पवन सर्राफमाथि चार टोलीले बोली लगाए। चितवन, लुम्बिनी, कर्णाली र विराटनगरबीच भएको लक्की ड्रमा कर्णाली याक्सले उनलाई १५ लाख रुपैयाँमा अनुबन्ध गर्यो।
सबैभन्दा धेरै बोली ८ टोलीले लगाएका आदिल आलमलाई काठमाण्डु गोर्खाजले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। बोली न्यूनतम १० लाखबाट सुरु भई १५ लाखमा पुग्दा सबै टोलीहरू इच्छुक थिए।
ए क्याटेगोरीका अन्य खेलाडी दिलिप नाथ र सूर्य तामाङ भने क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्सले १० लाख रुपैयाँमा अनुबन्ध गरेका छन्।
हालसम्म अक्सनबाट २६ खेलाडी अनुबन्ध भइसकेका छन्। केही टोलीहरूले अझै आफ्नो टिममा स्थान भर्न बाँकी रहेकाले विश लिस्टबाट थप खेलाडी छनोट गर्ने तयारीमा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस