ICCT20
नेपालको रोमाञ्चक जित, यूएई १ रनले पराजित
सुरुवाती १० ओभरमा ७३ रनको उत्कृष्ट सुरुवात गरे पनि मध्यान्तरपछि रनगति सुस्त हुँदा नेपालले १४० रनमै इनिङ्स समेटेको थियो।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जीत हासिल गरेको छ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। यूएईका अलिशान सराफूले ५८ र ध्रुव पराशरले ३८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
एक समय ८२–१ को बलियो अवस्थामा पुगेको यूएईमाथि त्यसपछि नेपाली बलरहरूले दबाब बनाएका थिए। ९९–६ को अवस्थामा क्रिजमा आएका पराशरले ठूला प्रहारहरू गर्दै खेलमा यूएईलाई जोगाइरहेका थिए।
अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्र सिंह ऐरीले पराशरलाई छक्का हानेपछि अर्को बलमै क्याच गराए। त्यसपछि अन्तिम दुई बलमा ३ रन चाहिँदा यूएईले रन बनाउन सकेन र अन्ततः नेपाल १ रनले विजयी भयो।
नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुलशन झाले १–१ विकेट हात पारेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतक प्रहार गरे। कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २० र गुलशन झाले ५ बलमा १४ रन जोडे।
सुरुवाती १० ओभरमा ७३ रनको उत्कृष्ट सुरुवात गरे पनि मध्यान्तरपछि रनगति सुस्त हुँदा नेपालले १४० रनमै इनिङ्स समेटेको थियो।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १–१ विकेट लिए।
तपाईको प्रतिक्रिया दिनुहोस