नेपालको अपराजित यात्रा ! ओमानमाथि ३८ रनको शानदार जित

नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ। बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले उपाधिको नजिक पुग्ने अवस्था बनाएको छ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रनको योगदान दिएका थिए।
नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतकको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो। भुर्तेलले ५१ बलमा ६९ रन बनाएका थिए। आसिफ शेखले २४, गुल्शन झाले १८ (२ छक्का सहित), र आदिल आलमले १६ रन जोडे।
पावरप्लेमा राम्रो सुरुवात गर्दै नेपालले ५३ रन जोड्दा कुनै पनि विकेट गुमाएन, तर त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो।
ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट लिए।
दुवै टोलीले पहिल्यै विश्वकपको छनोट सुनिश्चित गरिसकेका छन्। नेपालले आजको जितपछि ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। यसअघि नेपालले आइतबार यूएई र सोमबार कतारलाई हराएको थियो। ओमानले पनि आइतबार कतार र सोमबार यूएईमाथि विजय हासिल गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस