आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल आज अमेरिकासँग भिड्दै
काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज आजबाट दुबईमा सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
दुबै टोली जितको लक्ष्यसहित मैदान उत्रिने तयारीमा छन्। हालै ओमानमा सम्पन्न आईसीसी टी–२० एसिया एन्ड इस्ट एसिया छनोट प्रतियोगिता र दुबईमै टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज उपाधि जितेर उत्कृष्ट लयमा रहेको नेपाल एकदिवसीय क्रिकेटमा पनि सोही प्रदर्शन दोहोर्याउने लक्ष्यमा छ।
विश्वकप लिग–२ मा भने नेपालको प्रदर्शन कमजोर रहँदै आएको छ। हालसम्म १६ खेल खेल्दा नेपालले ५ मा जित र ९ मा हार ब्यहोरेको छ भने दुई खेल रद्द भएका थिए। नेपालले जम्मा १२ अंक जोड्दै अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ, जसले समान १६ खेलबाट ६ अंक जोडेको छ।
नेपालले यस सिरिजका सबै चार खेल जित्न सकेको खण्डमा नामिबियालाई पछि पार्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लनेछ। हाल नामिबियाको २४ खेलबाट १९ अंक रहेको छ।
उता, अमेरिका २० खेलबाट २८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। यस सिरिजमा दुई वा सबै खेल जित्न सके अमेरिकाले शीर्ष स्थानमा रहेको स्कटल्याण्डलाई पछि पार्ने सम्भावना छ। हाल स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा छ।
अमेरिका हाल उत्कृष्ट लयमा छ। पछिल्ला दुई त्रिकोणात्मक सिरिजमा उसले ६ जित र २ हारको नतिजा निकालेको छ।
नेपालले गत संस्करणको अन्तिम १२ खेलमध्ये ११ मा जित निकाल्दै शानदार पुनरागमन गरेको थियो, तर यस संस्करणमा भने त्यो लय कायम राख्न सकेको छैन। प्रारम्भिक दुई सिरिजमा मात्र एक खेल जितेको नेपालले त्यसपछिका सिरिजमा पनि कमजोर प्रदर्शन गरेको हो।
तर, गत जुनमा स्कटल्याण्ड र नेदरल्याण्ड सहभागी त्रिकोणात्मक सिरिजमा नेपालले ४ खेलमध्ये ३ मा जित निकाल्दै पुनरागमनको संकेत दिएको थियो।
आजको खेल नेपालका लागि बदला लिने अवसर पनि हो। नेपाल र अमेरिकाबीच हालसम्म ९ एकदिवसीय खेल खेलिँदा दुवै टोलीले ४/४ खेल जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ। पछिल्ला पाँच खेलमध्ये नेपालले केवल एकमा जित हात पारेको छ, जबकि अमेरिकाले तीनमा विजय हासिल गरेको छ।
नेपाल यसपटक घरेलु समर्थकको आत्मविश्वास र पछिल्लो सफलताबाट प्रेरित भई लिगमा पुनरागमन गर्ने लक्ष्यमा छ।
नेपालको सम्भावित टोली
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजवंशी।



तपाईको प्रतिक्रिया दिनुहोस