आईसीसी विश्वकप लिग–२ : अमेरिकासँग नेपाल १०६ रनले पराजित
काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउँदै नेपाल ३९ ओभर १ बलमा १५६ रनमै समेटिएको हो ।
नेपालका लागि ऐरीले सर्वाधिक ४० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। आसिफ शेखले ३७ रन, भीम सार्कीले २९, आरिफ शेखले २०, सोमपाल कामीले ११ रन जोडे। कप्तान रोहित पौडेल २, गुल्सन झा ३, करण केसी २, सन्दीप लामिछाने र कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए ।
अमेरिकाका हर्मित सिंह नेपालका लागि सर्वाधिक घातक सावित भए । उनले ८.१ ओभरमा मात्र २६ रन खर्चेर ६ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनाएको थियो। अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रनको योगदान दिए।
नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस