बोपाराको लगातार अर्धशतक, चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
रवि बोपाराको लगातार दोस्रो अर्धशतकसहित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ।
टस हारेपछि ब्याटिङमा आएको चितवनले त्रिवि क्रिकेट मैदानमा २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाउन सफल भयो। बोपाराले ५५ बलमा ६ चौका र ३ छक्कासहित ६६ रनको धैर्यपूर्ण पारी खेले। उनलाई अन्तिम ओभरमा गुलबदिन नैबले दीलिप नाथबाट क्याच गराए।
चितवनको सुरुआत कमजोर थियो। पहिलो ओभरमै रुबेन ट्रम्पलमनले डेबिड मलानलाई शून्यमै बोल्ड गरे। त्यसपछि अभिषेक गौतमले दीपक बोहरा (१०) र देव खनाल (१४) लाई आउट गरेपछि चितवन ८ औँ ओभरमा ४१–३ स्थितिमा पुगेको थियो।
कप्तान कुशल मल्लले १८ बलमा २१ रन बनाए। एक छक्का प्रहार गरेका उनले १२ रनमा जीवनदान पाए पनि ट्रम्पलमनकै बलमा शेर मल्ललाई क्याच दिएका थिए । सैफ जैबले ७ बलमा १५ रन (२ चौका, १ छक्का) जोडे। सोहेल तन्बिर ५ रनमा आउट भएका थिए ।
लुम्बिनीका ट्रम्पलमन उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। नैब र अभिषेक गौतमले समान २–२ विकेट हात पारेका थिए ।
लुम्बिनीको यो एनपीएलको पहिलो खेल हो। चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतिस्पर्धा शानदार रूपमा सुरु गरेको थियो।
गत वर्ष लुम्बिनी लिग चरणमा ७ मध्ये ६ खेल हारे पनि चितवनविरुद्धको खेलमा भने ३३ रनले विजयी भएको थियो। सो खेलमा कप्तान रोहित पौडेलले ५७ बलमा ८० रन र ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस