काठमान्डु गोर्खाजको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत मंगलबार भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्समाथि २२ रनको रोमाञ्चक जित हात पारेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको ब्याटिङ लाइनअप धर्मराउँदा काठमान्डुले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो।
काठमान्डुले प्रस्तुत गरेको १५९ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा १३५ रनमै अलआउट भएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन र दिलीप नाथले २५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अन्य ब्याटरहरूले सम्हालिएर खेल्न नसक्दा लुम्बिनी लक्ष्य भेटाउन चुकेको हो ।
काठमान्डुको जितमा बलरहरूको प्रदर्शन निर्णायक बन्यो। मिलिन्द कुमार र जेरार्ड एरासमसले २-२ विकेट लिएका थिए । त्यस्तै, कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले १-१ विकेट लिँदै लुम्बिनीलाई दबाबमा राखेको देखिन्छ ।
अंक तालिका र विगतको प्रदर्शनबाट यो जितसँगै चार खेल खेलिसकेको काठमान्डु गोर्खाज ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताको सुरुआती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमान्डु त्यसपछिका दुई खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो। आजको जितले टोलीलाई पुनः लयमा फर्काएको छ।
अर्कोतर्फ, लुम्बिनी लायन्सको यो लगातार दोस्रो हार हो। आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई हराएर सुखद सुरुआत गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस