Techie IT
२०८२ मंसिर १९, शुक्रबार

मैदानमा सुदूरपश्चिमको तुफानी यात्रा रोक्न सक्छ त कसैले?

प्रशिक्षक जगत टमाटाले कप्तान दीपेन्द्रसिंह ऐरीलाई 'गड गिफ्टेड' खेलाडीको संज्ञा दिँदै उनको नेतृत्व र फिल्डिङको खुलेर तारिफ गरे


नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो उत्कृष्ट लय जारी राख्दै आज चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ। यो जितसँगै अपराजित रहेको सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहँदै क्वालिफायर-१ मा स्थान पक्का गरेको छ। सुदूरपश्चिमको यो विजयले विराटनगर किंग्सलाई पनि प्लेअफमा सुरक्षित बनायो तर चितवनको भने प्लेअफ सम्भावना कमजोर बनेको छ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ७० रनको विजय लक्ष्य पछ्याएको चितवन राइनोज १७.१ ओभरमा १ सय २० रनमै समेटियो। चितवनका लागि भेट्रान खेलाडी रवि बोपाराले सर्वाधिक २९ रन (२३ बल, १ चौका, २ छक्का) बनाए पनि अन्य खेलाडीहरू देव खनाल (२८), अर्जुन साउद (१६), र कप्तान कुशल मल्ल (१५) ले दोहोरो अंकमा मात्र रन जोडे । कसैले पनि ठूलो साझेदारी गर्न सकेनन्।

सुदूरपश्चिमका लागि पुनित मेहराले उत्कृष्ट प्रदर्शन गर्दै २.१ ओभरमा १४ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, इशान पाण्डे, र हिम्मत महराले १-१ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले बलिङमा मात्र नभई उत्कृष्ट डाइरेक्ट हिट रनआउट गर्दै डेविड मलानलाई पेभेलियन फर्काएका थिए, जसले खेलको मोमेन्टम नै परिवर्तन गरिदियो ।

ओपनर क्रिस लिनले रिटायर्ड हर्ट हुनुअघि ५६ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका थिए । यसअघिका खेलहरूमा खासै चम्किन नसकेका लिनले यस पाली भने लामो इनिङ्स खेलेर टिमलाई बलियो आधार दिलाउन सफल रहे ।

अन्तिम ओभरहरूमा कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान अविजित २४-२४ रन बनाउँदै टिमको स्कोरलाई प्रतिस्पर्धात्मक उचाइमा पुर्‍याएका थिए। चितवनका लागि सैफ जैबले २ विकेट लिएका थिए । 

लगातार छैटौं जित हासिल गरेको सुदूरपश्चिमले अब लिगको अन्तिम खेलमा विराटनगर किंग्ससँग खेल्नेछ। लगातारको सफलतापछि सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रशंसा गरेका छन् । पोस्ट-म्याच कन्फ्रेन्समा उनले भने, "खेलाडीहरूले सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नुभएको छ। यो टिमवर्कको नतीजा हो, हरेक खेलमा फरक खेलाडी प्लेयर अफ द म्याच हुनुभएको छ यो सुदुरपश्चिम रोयल्सका लागि गौरभको कुरा हो ।"

प्रशिक्षक जगत टमाटाले कप्तान दीपेन्द्रसिंह ऐरीलाई 'गड गिफ्टेड' खेलाडीको संज्ञा दिँदै उनको नेतृत्व र फिल्डिङको खुलेर तारिफ गरेका थिए। टमाटाले भने, "उनी उत्कृष्ट फिल्डर हुन् र उनको कप्तानीको जति तारिफ गरे पनि कम हुन्छ। यस्तो खेलाडी नेपालले पाउनु गर्वको कुरा हो।" उनले ट्यालेन्ट हन्टबाट आएका पुनित मेहरा र हिक्मत महरा जस्ता युवा खेलाडीको प्रदर्शनमा पनि खुसी व्यक्त गरेका छन् । 

अपराजित हुँदै मैदानमा तुफान शैलीमा खेल प्रदर्शन गरिरहेको सुदुरपश्चिमले नै यसपालिको ट्रफी उचाल्ने धेरैले आकलन गरिरहेका छन् । तथापि खेलमा सबै अनुमान मिल्छन् भन्ने पनि हुँदैन । रोयल्सलाई कसैले रोक्न सक्ला की ट्रफी कर्णाली पारी तर्छ यो त आगामि दिनका खेलहरुले देखाउने नै छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट