Techie IT
२०८२ मंसिर २४, बुधबार

रोयल्सका विनोद चम्किए, विराटनगरलाई १५६ रनको लक्ष्य


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले ओपनर विनोद भण्डारीको अर्धशतक प्रदर्शनको आधारमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ५२ बलमा ६३ रनको योगदान दिए। उनका इनिङ्समा ३ चौका र २ छक्का समावेश भए। जारी एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो। विराटनगरविरुद्धको प्रदर्शनपछि उनी सर्वाधिक रनकर्तामध्ये दोस्रो स्थानमा उक्लिए छन्। उनले ८ खेलमा २६४ रन जोडेका छन्।

लिगमा पोखरा एभेन्जर्सका इंग्लिस विकेटकिपर एडम रोसिङटन ७ खेलमा एक शतकसहित ३२३ रन बनाएर शीर्षस्थानमा छन्।

यसै खेलमार्फत एनपीएलमा डेब्यू गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे। अर्का डेब्युटान्ट मुख्तर अहमद १० रनमा आउट भए। आरिफ शेखले पनि २० रन जोड्दै विनोदसँग छैटौँ विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए।

आज इशान पाण्डे १३ रनमा आउट भए भने कप्तान दीपेन्द्र सिंह ऐरी ३ रनमै रनआउट भएका थिए । हर्मित सिंहले १४ रनको मात्र योगदान दिए।

सुदूरपश्चिमले २१ रनमा पहिलो विकेट गुमाएपछि विनोदले क्रमशः ज्याक्सन, पाण्डे र आरिफसँग उल्लेखनीय साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । तर, उनी १९औँ ओभरको अन्तिम बलमा ६३ रनमा आउट भए।

विराटनगरका बलरहरूमध्ये मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ विकेट लिए भने सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट हात पारेका थिए । डे लाङले ४ ओभरमा २३ रन मात्रै खर्चेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट