इडेन ब्रिज एकेडेमी र न्युटन १९औं भ्याली पब्लिक कपको क्वाटरफाइनलमा
इडेन ब्रिज एकेडेमी (ईबीए) र न्युटनले १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा स्थान बनाएका छन्। शुक्रबार भएको खेलमा ईबीएले फेरिल्यान्डलाई ३०-२१ ले पराजित गर्दा दिग्विजय पुरीले १३ स्कोर योगदान दिए। त्यस्तै, दिवस मगरको १६ स्कोरको मद्दतले न्युटनले ओडिसी एकेडेमीलाई ३१-२२ ले हरायो।
प्रतियोगिताको जुनियर ब्वाइज समूहमै ग्रिनफिल्ड नेसनलले सेबलाई १९-१६ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सिनियर ब्वाइजतर्फ जेबी स्कुल, टीआईए र जिनियस वर्ल्डले आफ्नो-आफ्नो खेल जितेर अन्तिम आठमा स्थान बनाएका छन्। जेबीले हेराल्डलाई ३१-२६, टीआईएले किङडमलाई ४३-३५ र जिनियस वर्ल्डले डा. मेमोरियललाई ५३-३८ ले हराए। खेलमा जेबीका नरेश बोहराले १५, टीआईएका रोशन नगरकोटीले २२ र जिनियसका राजीवले १८ स्कोर गरेका थिए।
सिनियर गर्ल्सतर्फ न्युटन, साम्तेन र केभीकेकोएसएस विजयी बने। न्युटनले जेबीलाई २९-१८, साम्तेनले सेबलाई २५-१३ र केभीकेकोएसएसले हिमशिलालाई २९-१२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे। न्युटनकी इरिनी राणाले ११, साम्तेनकी अनुषा तामाङले ७ र केभीकेकोएसएसकी खुसी मिटोकले ११ स्कोर गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस