सेमिफाइनलमा इंग्ल्यान्ड: पाकिस्तान २ विकेटले पराजित
इंग्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
सुपर–८ अन्तर्गत भर्खरै सम्पन्न खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इंग्ल्यान्ड नकआउट चरणमा पुगेको हो। यसअघि श्रीलंकालाई ५१ रनले हराएको इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
१६५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले शतकीय पारी खेले। उनले ५० बलमा १० चौका र ४ छक्काको मद्दतले १०० रन बनाए। यस्तै विल ज्याक्सले २६ तथा साम करनले १६ रनको योगदान दिए।
बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिए। उस्मान तारिक र मोहम्मद नवाजले समान २–२ विकेट लिएका हुन्।
यसअघि श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो।
पाकिस्तानका ओपनर साहिबजादा फरहानले ६३ रनको उत्कृष्ट पारी खेले। बाबर आजम र फखर जमानले समान २५–२५ रन बनाए भने सादाब खानले २३ रन जोडेका थिए ।
इंग्ल्यान्डका लागि लियाम डासनले ३ विकेट लिए। जोफ्रा आर्चर र जेमी ओभरटनले समान २–२ विकेट लिए भने आदिल रशीदले १ विकेट लिए। पाकिस्तानका एक ब्याटर रनआउट भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस