भुटानलाई हराउँदै सेमिफाइनल यात्रा बलियो बनाउने नेपालको दाउ
मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा भुटानको सामना गर्दैछ। बुधबार भएको उद्घाटन खेलमा कतारमाथि ८ विकेटको सानदार जित दर्ता गरेको नेपाली टोली आज पनि सोही लयलाई निरन्तरता दिँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
नेपाल र भुटानबीचको यो रोमाञ्चक भिडन्त मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा बिहान ७:१५ बजे सुरु हुँदैछ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले कतारमाथि सहज जित हात पारेको थियो। कतारले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र १० ओभर ५ बलमा २ विकेट गुमाएर ७८ रन बनाउँदै भेटाएको थियो। ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेको नेपाल आजको खेलमा पनि बलियो मनोबलका साथ मैदानमा हुनेछ।
समूह चरण अन्तर्गत नेपालले आफ्नो तेस्रो तथा महत्वपूर्ण खेल आगामी शनिबार हङकङसँग खेल्ने तालिका छ। उपाधि दाबेदार मानिएको नेपालका लागि समूह विजेता बन्दै अघिल्लो चरण प्रवेश गर्न आजको खेल निकै महत्वपूर्ण मानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस