Techie IT
२०८३ भाद्र २६, शुक्रबार

FIFA2026

हाइटीमाथि ब्राजिलको गोल वर्षा, कुन्हाको डबल प्रहारसँगै पहिलो जित

यो जितसँगै ब्राजिलले दुई खेलबाट चार अंक जोड्दै गोल अन्तरका आधारमा समूह ‘सी’ को शीर्ष स्थान कब्जा गरेको छ


पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले फिफा विश्वकप फुटबल–२०२६ मा पहिलो जित दर्ता गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल थपेका थिए । सुरुदेखि नै खेलमा हाबी बनेको ब्राजिलले पहिलो हाफमै तीन गोल गर्दै जितको आधार तयार गरेको थियो।

खेलको २३औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। त्यसपछि ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिल ३–० को सहज अग्रतासहित विश्राममा गएको थियो।

ब्राजिलले खेलको १२औँ मिनेटमै राफिन्हामार्फत गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। खेलभर दबाबमा रहेको हाइटीले ब्राजिलको आक्रमण रोक्न सकेन।

यो जितसँगै ब्राजिलले दुई खेलबाट चार अंक जोड्दै गोल अन्तरका आधारमा समूह ‘सी’ को शीर्ष स्थान कब्जा गरेको छ। समान चार अंक रहेको मोरक्को दोस्रो स्थानमा छ। यसअघि ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा सकिएको थियो।

समूहमा स्कटल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा रहँदा लगातार दोस्रो हार बेहोरेको हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना अत्यन्त कमजोर बनेको छ।

यद्यपि ब्राजिलको जितबीच स्टार खेलाडी राफिन्हाको चोटले भने टोलीलाई चिन्तित बनाएको छ। खेलका क्रममा घाइते भएपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो र उनको स्थानमा रायन मैदान प्रवेश गरेका थिए। राफिन्हाको चोटको अवस्था कस्तो छ भन्नेबारे टोलीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट