यामाल र ओयार्साबाल चम्किँदा स्पेनको शानदार पुनरागमन, साउदी अरेबियामाथि ४–० को गोलवर्षा
युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनमा स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा साउदी अरेबियामाथि ४–० को सानदार जित निकालेको छ। पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेनले यो प्रभावशाली जितसँगै प्रतियोगितामा आफ्नो लय समातेको छ।
आइतबार राति सम्पन्न खेलमा स्पेनले सुरुआतदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलको १०औँ मिनेटमा यामालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि आलोचनाको सामना गरेका स्ट्राइकर ओयार्साबालले पहिलो हाफमै दुई गोल थप्दै स्पेनलाई हाफटाइमअघि ३–० को बलियो अवस्थामा पुर्याए।
मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो ६५औँ जन्मदिन मनाइरहेका बेला टोलीले उनलाई उत्कृष्ट प्रदर्शनसहित जितको उपहार दिएको छ। चोट र लामो विश्रामपछि मैदान फर्किएका यामालले खेलभर साउदी रक्षापंक्तिलाई दबाबमा राखेका थिए।
१०औँ मिनेटमा ओयार्साबालको पासलाई सदुपयोग गर्दै यामालले ब्याक पोस्टबाट गोल गरे र विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गरे। त्यसपछि स्पेनले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो।
ओयार्साबालले खेलको दोस्रो र तेस्रो गोल गर्दै आफ्नो उत्कृष्ट फर्म देखाए। ड्यानी ओल्मो र एमेरिक लापोर्टको समन्वयमा आएको अवसरलाई उनले गोलमा परिणत गरेका थिए। त्यसको तीन मिनेटपछि पेड्रो पोरो र मार्क कुकुरेलाको आकर्षक पासमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता अझ फराकिलो बनाए।
दोस्रो हाफमा स्पेनले केही प्रमुख खेलाडीलाई विश्राम दिएको थियो। तर खेलको ४८औँ मिनेटमा साउदी अरेबियाका डिफेन्डर हसन अल–ताम्बाक्तीबाट आत्मघाती गोल भएपछि स्पेन ४–० ले अघि बढ्यो। त्यसपछि थप गोल हुन नसके पनि स्पेनले सहज रूपमा खेल आफ्नो पक्षमा राख्दै शानदार जित सुनिश्चित गर्यो।
यो जितसँगै समूह ‘एच’ मा स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ र नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। पराजित साउदी अरेबियाको भने समान दुई खेलबाट १ अंक मात्र रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस