स्कटल्यान्डमाथि ब्राजिलको ३–० को जित
स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल फिफा विश्वकप २०२६ को समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० को सोझो गोलअन्तरले पराजित गर्दै ब्राजिल समूहको शीर्ष स्थानमा रहन सफल भएको हो।
ब्राजिलको एकतर्फी जितमा रियल म्याड्रिडका स्टार विनीसियसले दुई गोल गरे। ह्याट्रिक गर्नबाट चुके पनि खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका उनी ‘प्लेयर अफ द म्याच’ चुनिए। यससँगै जारी विश्वकपमा उनको कुल गोल संख्या चार पुगेको छ। उनी सर्वाधिक गोलकर्ताको दौडमा पाँच गोलसहित शीर्ष स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीभन्दा मात्र एक गोलले पछि छन्।
खेलको सुरुवाती समयदेखि नै ब्राजिलको तीव्र दबाबमा परेको स्कटल्यान्डले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। खेलभर पूर्ण रूपमा निरीह देखिएको स्कटल्यान्ड यो पराजयसँगै समूह चरणबाटै बाहिरिने खतरामा परेको छ। समूहको तेस्रो स्थानमा खुम्चिएको स्कटल्यान्डको नकआउट (अन्तिम ३२) मा पुग्ने सम्भावना अब अन्य समूहको नतिजा र भाग्यमा निर्भर रहनेछ।
यसै समूहको भर्खरै सम्पन्न अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–० को भारी गोलअन्तरले स्तब्ध पारेको छ। हाइटीमाथि शानदार जित निकालेसँगै मोरक्को समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस