Techie IT
२०८३ असार २७, शनिबार

विश्वकपबाट कोलम्बिया बाहिरिएपछि फरवार्ड काम्पाजलाई ज्यान मार्ने धम्की


फिफा विश्वकपबाट कोलम्बिया बाहिरिएपछि टोलीका फरवार्ड जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की आएको छ । कोलम्बियाली फुटबल महासंघ (एफसीएफ) ले यस घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । 

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको प्रतिनिधित्व गरेकै कारण कुनै पनि खेलाडी, उनका परिवार वा नजिकका व्यक्तिहरूलाई धम्की दिने र त्रासमा पार्ने कार्य पूर्णतः अस्वीकार्य रहेको स्पष्ट पारेको छ । कोलम्बियाको विश्वकप यात्रा मंगलबार सम्पन्न अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै समाप्त भएको थियो । अर्जेन्टिनाको क्लब रोसारियो सेन्ट्रलबाट व्यावसायिक फुटबल खेल्ने काम्पाजले अतिरिक्त समयमा पाएको एउटा महत्त्वपूर्ण गोल गर्ने अवसर खेर फालेका थिए । उनको प्रहार गोलपोस्टभन्दा बाहिरिएपछि कोलम्बियाले खेल जित्ने ठूलो अवसर गुमाएको थियो । यसैका कारण उनी अहिले समर्थकहरूको आक्रोशको निशाना बनेका छन् ।

खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो अनुहार छोपेको निराश तस्बिर सेयर गर्दै काम्पाजले सबैैसँग सम्मानको अपिल गरेका छन् । उनले फुटबलमा यस्ता कठिन क्षणहरू आउने उल्लेख गर्दै हारको आक्रोशले कसैलाई घृणा फैलाउने वा डरमा बाँच्न बाध्य पार्ने अधिकार कसैलाई नहुने लेखेका छन् । 

धम्कीको गम्भीरतालाई हेर्दै कोलम्बियाली फुटबल महासंघले देशको महान्यायाधिवक्ताको कार्यालयलाई घटनाको छानबिन तीव्र पार्न र धम्की दिनेहरूको पहिचान गरी कडा कारबाही गर्न आग्रह गरेको छ । महासंघले फुटबल सधैँ एकता, सम्मान र आशाको माध्यम हुनुपर्ने भन्दै खेलको हार वा निराशा वास्तविक जीवनमा हिंसा, घृणा वा भयको कारण बन्न नहुनेमा जोड दिएको छ ।

यो दुखद घटनाले कोलम्बियाली फुटबलको एउटा पुरानो र भयानक कालो इतिहासलाई पुनः ब्युँताइदिएको छ । यसअघि सन् १९९४ को विश्वकपमा अमेरिकाविरुद्धको खेलमा कोलम्बियाका डिफेन्डर आन्द्रेस एस्कोबारले आत्मघाती गोल गरेका थिए । सो खेलमा टोली २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको केही दिनपछि, स्वदेश फर्किएका एस्कोबारको मेडेलिन सहरमा गोली हानी विभत्स हत्या गरिएको थियो । 

काम्पाजलाई आएको यो धम्कीले फेरि त्यस्तै अप्रिय घटना दोहोरिन सक्ने भन्दै खेल जगतमा ठूलो चिन्ता पैदा गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट