ग्लासगोमा नेपाली सपना चकनाचुर, स्कटल्यान्ड बन्यो विजेता

स्कटल्यान्डले ग्लासगोमा सम्पन्न टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको उपाधि जितेको छ । शुक्रबार राति भएको अन्तिम र निर्णायक खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्यान्ड विजेता बनेको हो ।
त्रिकोणात्मक श्रृंखलामा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स तीन टोली सहभागी थिए । डबल राउन्डरोबिन प्रणालीमा भएको प्रतियोगितामा तीनवटै टोलीले दुई–दुई खेल जित्दै समान चार अंक प्राप्त गरेका थिए । यद्यपि, स्कटल्यान्डले सकारात्मक नेट रनरेट (+०.०७२) को आधारमा उपाधि उचाल्न सफल भयो। नेपालको रनरेट –०.२९१ रहँदा नेदरल्यान्ड्सको –०.३८५ थियो ।
शुक्रबारको खेलमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै स्कटल्यान्डले १८३ रन बनायो । उसका लागि जर्ज मुर्रेले ४७ बलमा सात चौका र पाँच छक्कासहित ७८ रन बनाएका थिए ।
नेपालका कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।
जवाफमा नेपालले १८४ रनको लक्ष्य पछ्याउँदा १८.५ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुपेश सिंहले २२ बलमा सर्वाधिक ४३ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ तथा कप्तान रोहित पौडेलले २७ रन जोडे। स्कटल्यान्डका क्रिस ग्रेभेसले तीन विकेट लिएर नेपालको ब्याटिङ धराशायी बनाएका थिए।
खेलपछि स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले घरेलु मैदानमा उपाधि जित्दा निकै गर्व लागेको बताएका छन् । नेपालका कप्तान रोहित पौडेलले भने आफूहरू आवश्यक समयमा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे । उनले आगामी सिरिजमा सुधार गर्ने प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया दिनुहोस