नेपाली टिम होरा इस्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपमा छनोट
नेपालको गौरव बढाउँदै होरा इस्पोर्ट्स आगामी महिना साउदी अरेबियामा हुने पब्जी मोबाइल वर्ल्ड कप (PMWC) मा छनोट भएको छ । काजाकिस्तानमा हालै सम्पन्न PMSL CSA (सेन्ट्रल एन्ड साउथ एसिया) को दोस्रो स्थानमा रहँदै होराले पब्जीको प्रतिष्ठित विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
इस्पोर्ट्स विश्वकप आगामी जुलाई ८ देखि अगस्ट २४ सम्म साउदी अरेबियाको रियादमा हुँदैछ, जसभित्र पब्जी मोबाइलको विश्वकप जुलाई २५ देखि अगस्ट २३ सम्म चल्नेछ । यसमा नेपालको प्रतिनिधित्व होरा इस्पोर्ट्सले गर्नेबएको छ ।
काजाकिस्तानमा भएको PMSL CSA मा नेपालबाट होरा इस्पोर्ट्ससहित डिआरएस गेमिङ र ट्राइम एरोमेसी गरी तीन टिमले सहभागिता जनाएका थिए । पहिलो चरणमा कुल २० टिमले प्रतिस्पर्धा गरेकोमा १६ टिम अन्तिम चरणमा प्रवेश गरेका थिए, जसमा नेपालका तीनै टिम सामेल भएका थिए । तर, अन्तिम चरणबाट विश्वकपमा छनोट हुने प्रावधानअनुसार शीर्ष ३ टिम मात्र छानिने हुँदा होरा इस्पोर्ट्सले मात्र सफलता हात पार्यो ।
अन्तिम नतिजामा मंगोलियाको अल्फा गेमिङ १७० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । दोस्रो स्थानमा आएको होरा इस्पोर्ट्सले १३९ अंक जोड्यो, भने पाकिस्तानको फोरथ्राइभ इस्पोर्ट्स १३७ अंकका साथ तेस्रो भएको थियो । यसरी अल्फा गेमिङ, होरा इस्पोर्ट्स र फोरथ्राइभ इस्पोर्ट्स विश्वकपका लागि छनोट भए । नेपालका अन्य टिमहरू एएसटी दशौँ (९७ अंक) र डिआरएस एघारौँ (९४ अंक) स्थानमा रहेका छन् ।
यसअघि, डिआरएस गेमिङ ले सन् २०२२ मा इन्डोनेसियामा भएको पब्जी मोबाइलको ग्लोबल च्याम्पियनसिप खेल्दै दोस्रो स्थान हासिल गरेको थियो, जुन नेपाली पब्जी इतिहासको सबैभन्दा ठूलो सफलता मानिन्छ।
पब्जी मोबाइल वर्ल्ड कपको स्वरूप र पुरस्कार
पब्जी मोबाइल विश्वकपमा विश्वभरका उत्कृष्ट २४ टिम ले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ ।
प्रतियोगितामा २४ टिमलाई तीन समूहमा विभाजन गरी समूह चरणको प्रतिस्पर्धा गराइनेछ । यसबाट शीर्ष ८ टिम सिधै ग्राण्ड फाइनल मा प्रवेश गर्नेछन् । बाँकी १६ टिमले दोस्रो चरणको सर्भाइभल राउन्ड मा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट थप ८ टिम ग्राण्ड फाइनलका लागि छनोट हुनेछन् । अन्ततः ग्राण्ड फाइनलमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् र सबैभन्दा धेरै अंक जोड्ने टिम पब्जी मोबाइल च्याम्पियन बन्नेछ।
इस्पोर्ट्स वर्ल्ड कपको ब्रान्ड एम्बेसडरका रूपमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नियुक्त भएसँगै यस विश्वकपको चर्चा झनै बढेको छ । यस पटक इस्पोर्ट्स वर्ल्ड कपमा ७० मिलियन अमेरिकी डलरभन्दा धेरै पुरस्कार राशि रहेको छ, जुन अघिल्लो पटकको ६२.५ मिलियन डलरभन्दा बढी हो ।
यस वर्ष इस्पोर्ट्स वर्ल्ड कपमा पब्जी मोबाइलसहित विभिन्न २५ खेलका २६ इभेन्ट मा प्रतिस्पर्धा हुनेछ ।
होरा इस्पोर्ट्सका मालिक सन्जन गौतम (सिआर सेभेन होरा) ले पब्जी मोबाइलको विश्वकपमा पुग्नुलाई ठूलो उपलब्धि बताएका छन् । उनले भने, "अन्तिम चरणमा दोस्रो भयौं । तर विश्वकप पुग्नु पनि ठूलो कुरा हो।" उनले सुरुमा टप थ्रीमा पर्ने लक्ष्य राखेको र फाइनल राउन्डका दुई खेल हेर्दा च्याम्पियन बन्ने मौका समेत देखिएको बताए। गौतमका अनुसार यस प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर मिल्यो र खेलाडीहरूले राम्रो प्रदर्शन गरे।



तपाईको प्रतिक्रिया दिनुहोस