साफ यू–२० च्याम्पियनसिप: मीनाको ह्याट्रिकसहित नेपालद्वारा श्रीलंकामाथि ७–० को सानदार जित

मीना देउवाको उत्कृष्ट प्रदर्शनले नेपाली यू–२० महिला टोलीले साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकामाथि एकतर्फी जित निकालेको छ। मंगलबार बंगलादेशको बसुन्धरा किङ्स एरिनाको प्रशिक्षण मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० ले हराउँदै प्रभावशाली प्रदर्शन गर्यो।
नेपालका लागि मीनाले ह्याट्रिक गर्दै तीन गोल गरिन्। पूर्णिमा राईले दुई गोल थपिन् भने समीक्षा मगर र सरिता कुमारीले एक–एक गोल गरेका थिए । पहिलो हाफमै नेपालले ५–० को बलियो अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो।
यस जितसँगै नेपालले तीन खेलबाट ६ अंक जोडेको छ र समूह तालिकामा दोस्रो स्थानमा कायम छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो तर दोस्रो खेलमा बंगलादेशसँग ३–२ को हार बेहोरेको थियो।
श्रीलंकाका लागि भने यो लगातार तेस्रो हार हो। उनीहरू पहिलो खेलमा बंगलादेशसँग ९–१ ले र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएका थिए। नेपाल अब प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गर्न अन्तिम खेलमा विजय निकाल्ने रणनीतिमा देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस