झुलाघाट नाका ३ दिन बन्द हुने
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द गरिने भएको छ।
मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिएका छन्। उनका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ।
जिल्लाको करिब ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। जिल्ला सुरक्षा समितिले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका सीमा सुरक्षा चौकी (बिओपी)मार्फत निगरानी बढाइएको जनाएको छ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावत पनि निर्वाचन अवधिभर बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए।
यसअघि पनि निर्वाचनका समयमा ७२ घण्टा सीमा नाका बन्द गर्ने प्रचलन रहेको छ। अत्यावश्यक काम परेमा भने दुई देशबीचको आपसी समन्वयमा नाका खोल्न सकिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस