मन्त्री बर्खास्तगीको काउन्टरः एमालेद्वारा सुदूरपश्चिम सरकारको समर्थन फिर्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेलगत्तै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले साँझ ५ बजेदेखि लागू हुने गरी कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। निर्णयलगत्तै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका छन्।
असार १ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सत्ता साझेदार एमाले सुरुदेखि नै असन्तुष्ट थियो। एमाले सांसदहरूले बजेटविरुद्ध प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको थियो।
एमालेले बजेट पुनर्लेखनको अडान राखिरहेका बेला मुख्यमन्त्री शाहले बुधबार एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने कदम चालेको हो।
एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री शाहले अब सरकार टिकाउन वैकल्पिक राजनीतिक समीकरणका लागि कसरत सुरु गरेका छन्।
यसैबीच, एमाले संसदीय दलको बैठकले दलका उपनेता सन्तोष शर्मा थापामाथि परेको मातृशोकप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस